Sunday, May 10, 2020

उच्च शिक्षाका सरोकारहरु (Nagarik News, 2016)


अठार वर्ष मुनीका जनसंख्या दक्षिण एसियामा बढदै गएको र करीव ३७ प्रतिशत पुगेको २०११ को तथ्याङ्कले देखाइरहेको छ । त्यसैले आउदा दिनहरुमा उच्च शिक्षाको अवसर र माग दक्षिण एसिया क्षेत्रमा क्रमश बढदै जाने देखिन्छ । दक्षिण एसियाको परिपेच्छेयमा नेपाल, भारत र श्रीलंकालाई हेर्ने हो भने नेपालमा हाल ९ वटा विश्वविद्यालयहरु र चारवटा शिक्षण संस्थाहरु पछि विश्वविद्यालयको रुपमा परिवर्तन हुने गरि नेपाल सरकारवाट स्वीकृति लिइसकेको अवस्थामा छ । नेपालमा १०८७ क्याम्पसहरु विभिन्न विश्वविद्यालयहरु अन्तरगत रहेको २०१०को तथ्याकंले देखाउछ । भारतमा ६५९ विश्वविद्यालय अन्तरगत ३३०२३ वटा क्याम्पस रहेको २०११को उच्च शिक्षा सम्वन्धी रिपोर्टले देखाएको छ । श्रीलंकालाई हेर्ने हो भने सरकारद्धारा संचालित १५ वटा विश्वविद्यालय र १९ वटा निजि प्रमाण पत्र दिने शैक्षिक संस्थाहरु रहेका छन। हाल नेपालमा खुला विश्वविद्यालय खुली नसकेको अवस्था छ भने भारतमा १५ र श्रीलंकामा १ खुला विश्वविद्यालयहरु छन ।

नेपालमा शैक्षिक संस्थाको संख्याको आधारमा उच्च शिक्षाको स्थितिलाई दयनिय भन्न नमिले पनि गुणस्तरको हिसाबमा अझै धेरै गर्न बाकी रहेको छ । क्ष्ोत्रिय रुपमा विश्वविद्यालयहरु स्वीकृत हुनु र केही विषयगत विश्वविद्यालय खुल्नु राम्रो लक्षण भए तापनि स्वीकृत विश्वविद्यालयहरु चरम राजनैतिक खिचातानी  तथा भौतिक संरचरनाका अभावमा अन्तराष्ट्रिय माग अनुसार गुणस्तरीयता कायम गर्नु चुनौतीपूर्ण भएको छ ।

उच्च शिक्षाको केन्द्र विन्दु रहेको सोधकार्यका लागि अझ पनि हामी निकै नै पछाडि छौ । परयाप्त र आवश्यक वैज्ञानिक शैक्षिक प्रविधि, सन्र्दभ सामाग्रीहरु तथा बौद्धिक सम्पतिको चोरी सम्वन्धी जाँचको अभाव र विद्यार्थीलाई सोधकार्यमा सही रुपमा डोराउन सक्ने प्राध्यापकहरुको कमी जस्ता समस्याबाट हाम्रा धेरै शैक्षिक संस्थाहरु पिडित छन् । यहि कारणले गर्दा नै स्नाकोत्तर प्रमाण पत्र लिएका विद्यार्थीहरु पनि सानो तिनो सोध कार्य एकल प्रयासले गर्न नसक्ने अवस्थाको सिर्जना भएको छ । फेरि विद्यालय स्तर देखि नै समस्या समाधान गर्ने किसिमको सिकाई भन्दा पनि सुगा रटाइको कारण पनि उच्च शिक्षामा आएर सोध कार्यलाई सहज मान्न विद्यार्थीहरुलाई गाह्रो परि रहेको देखिन्छ । फेरि राष्ट्रिय स्तरमा पनि सोधकार्यलाई देशको विकाससंग विश्वविद्यालयहरुले जोडन सकी रहेका छैन । वषौ नि हजारौका संख्यामा थुप्रिएका सोध सम्वन्धी प्रतिवेदनहरु केवल विश्वविद्यालय तथा क्याम्पसहरुका पुस्ताकालयमा डम्पीङ भएर रहेका छन् ।

विश्वको ५०० वटा विश्वविद्यालय मध्ये गुणस्तरका हिसावले केवल भारतवाट ६ र पाकिस्तानवाट १ विश्वविद्यालय मात्र पर्नुले पनि पुरै दक्षिण एसिया क्षेत्र उच्च शिक्षाको गुणस्तर सुधार गर्नु पर्ने देखिन्छ । अझ, दक्षिण एसियाको गुणस्तरको स्थिति विच नेपाललाई हेर्ने हो भने २० सौ क्रमसंख्या भित्र पनि नेपालको कनै विश्वविद्यालय वा क्याम्पस नपर्नु ले पनि उच्च शिक्षाको गुणस्तर ब्यापक सुधार गर्न आवश्यक छ । निजी स्तरका विश्वविद्यालय संचालन गर्नका लागि दक्षिण एसियाको तीन मुलकलाई हेर्दा भारतमा बढी व्यवस्थीत स्थिति देखिन्छ । निजी विश्वविद्यालयको स्थापना तथा नियमन आधारित मापदण्ड अनुसारको छ की छैन भनि हेर्नका लागि त्यहा व्यवस्था भएको देखिन्छ । दक्षिण एसियाका  नेपाल लगायतका प्राय देशहरु विश्वव्यापार संगठनको सदस्य भइसके अवस्था छ तर नेपालले त्यसबाट ठोस उपलव्धी भने हासिल गर्न सकेको देखिदैन । विभिन्न विदेशि विश्वविद्यालयसंग संम्वन्धन लिएर खोलिएका क्याम्पसहरुको पनि नेपाल भित्र प्रष्ट कुनै कानूनी हैसियत अन्तरगत राखेको देखिदैन जसले गर्दा उनीहरुको नियमन र अनुगमन गर्न अप्ठेरो परिरहेको अवस्था छ ।

विकसित देशहरुमा  विद्यार्थीहरु उच्च शिक्षा के का लागि भन्ने करामा पहिले नै प्रष्ट भइ उच्च शिक्षा शरु गर्ने गरेको पाइन्छ तर पनि यहा विद्यार्थीहरु जागीर नपाए स्वरोजगार हुनु भन्दा पढेरै भए पनि समय विताउने परिपाटी विकशित हदै गएको कारण समस्या झन थपिदो छ । उच्च शिक्षा के का लागि र किन भन्ने महसुस नै नगरि उच्च शिक्षामा होमीन आउने विद्यार्थीहरु र शैक्षिक संस्थाहरु देशमा मागनै नभएका वा माग पूर्ति भइ सकेका विषयहरुमा उच्च शिक्षा उपलब्ध हुनाले पनि शैक्षिक बेरोजगार संख्या दिनानुदिन बढदै जाने अवस्थाको सिर्जना भएकोे छ । देश ७६ प्रतिशत जनसंख्या कृषीमा रोजगार रहेको अवस्थामा केवल ०.३ प्रतिशतले मात्र  कृषी र करीव १२ प्रतिशतले मात्र प्राविधिक शिक्षासंग सम्वन्धित विषयमा शिक्षा उपलव्ध हुनुले पनि आवश्यकता, माग र पूर्ति का विच तालमेल नभएको जस्तो देखिन्छ । कृषी, पर्यटन र प्राविधिक विषयहरुको माग देशको लागि रहेको भएतापनि आवश्यक दुरगामी दृष्टिको अभावमा क्याम्पसहरुवाट साधारण विषयको शिक्षाको उपलव्धता बढी छ । निजी लगानी कर्ता पनि प्राविधिक र व्यवसायिक विषयमा हुने अत्यधिक लगानी तथा व्यावहारिक ज्ञानका लागि तारतम्य मिलाउने झंझटबाट मुक्त हुन पनि साधारण विषय तिर नै लगानी गर्न तम्सीएका हुन की भन्ने भान हन्छ ।

उच्च शिक्षालाई रोजगारीका अवसर संग गाँसी हेर्नु पर्ने अर्को आवश्यकता हो । धेरै जस्तो उच्च शिक्षाका लागि भनि अमेरिका, अष्टेलिया, बेलायत, जापान लगायतका मुलकमा जाने विद्यार्थीहरु उच्च शिक्षा लिइ फर्किने भन्दा पनि रोजगारीको अवसर उतै पाइने आसमा हिडेका हुन कि जस्तो लाग्छ । अर्को तिर लाखौको संख्यामा वैदेशिक रोजगारीका लागि जाने युवा विश्व बजारको माग अनुरुपको शिप र दक्षता नहुदा अन्य देशबाट आएका यवाले भन्दा ज्यादै कम आर्जन गरी रहेका छन । त्यसैले साधारण विषयका स्नातक, स्नाकोत्तर र विद्यावारिधि लिनेको संख्या बढाउनु भन्दा पनि अहिलेको आवश्यकता त हजारौको संख्यामा बैदेशिक रोजगारमा जाने युवालाई विश्व बजारले मागे अनरुप दक्ष बनाइ, वैदेशिक रोजगारीमा बढी आर्जन गर्न सक्ने वा स्वरोजगारी तयार गर्ने किसिमको उच्च शिक्षा प्राथमिकतामा राख्नु पर्ने देखिन्छ ।

नेपालको उच्च शिक्षाको गुणस्तर र यसले सिर्जना गर्ने रोजगारीका अवसरमा भएका कमी कमजोरीहरु प्रष्टिदै गइ रहेको अवस्था छ । उच्च शिक्षा के का लागि ? उच्च शिक्षा पछि के गर्ने ? भन्ने विषयमा प्राय प्रष्ट नहुदै सामाजिक प्रतिष्ठा र रोजगारीका ढोका खुल्ने आसमा उच्च शिक्षा प्राप्त गर्न विद्यार्थीहरु लालायित भएको देखिन्छ । त्यसैले विद्यालय शिक्षा देखि विद्यार्थीहरुलाई उच्च शिक्षा प्रवेश गर्नु अगाडि नै यस सम्वन्धी गतिलो परामर्शको आवश्यकता छ ।

हाल भारतका प्रधानमन्त्री रहनु भएका मोदीले पनि उहा गुजरातको मुख्य मन्त्री रहदा विश्वविद्यालयको संख्या बढाउने र संख्या बढाउदा पनि गुजरातको आवश्यकतालाई सम्पूर्ण भारतको आवश्यकतासंग जोडी प्रहरी सेवासंग सम्वन्धी विश्वविद्यालय, शिक्षक तालिमसंग सम्वन्धी विश्वविद्यालय र विश्वकै पहिलो फोरन्सीक विश्वविद्यालय खोलेको र त्यसवाट विकासमा परेको प्रत्यक्ष सकारात्मक प्रभावहरुको उल्लेख गर्नु भएको छ । त्यसैले आज नेपालको दुरगामी विकासका लागि साघुरो घेरा भित्र नरही बृहत देश विकासको परिकल्पना गरि उच्च शिक्षालाई देशको आवश्यकता तथा अन्तराष्ट्रिय माग र गुणस्तरीय बनाउनु पर्ने देखिन्छ । उच्च शिक्षा सम्वन्धी निकाय, विषशेज्ञ तथा निति निर्माताहरुले अव आउदा दिनहरुमा आफुलाई सिमित घेरा भित्र नरखी बृहत देश विकास संग उच्च शिक्षालाई हेरि आवश्यक सुधार गर्नु पर्ने देखिन्छ ।


No comments:

Post a Comment

" फेसबुके माया " (2020)

              गाउँमा असी वर्षका बुबा , विदेशबाट छोराको फोन आउने आशामा बसेका छन । आज बुबाको जन्मदिन । छोरा बुहारीलाई नि सम्...