Sunday, May 24, 2020

“बा” (2020)

बा को सामु आमा रीसाउनुको अर्थ हुदैन्थ्यो । बा अरु बाहरु जस्तै घरका मुली थिए । बा रीसाउदा आमा चुप लाग्ने, बालाई मन पर्देन भनि, आमा खीत्का छोडेर नहास्ने, मुस्कुराउने मात्र । बालाई आइमाइ मान्छे धेरै हासेको पटक्कै मन पर्दैन  थियो । हजुरबा पनि छोरीबुहारीहरु ठूलो स्वरमा बोल्नु, हास्नु हुन्न भन्ने मान्यता राख्ने हुनाले, प्राय बा र हजुरबा घरमा हुदा घर शान्त हुन्थ्यो । बा रिसाउदा आमा चुप लाग्ने, आमा रीसाउदा बा झन ठुलो स्वरले डाको निकाल्ने गर्थे । बाका भाइबहिनी पहिले देखी नै दुलो पस्न लागेको मुसा झै बाको अगाडि लुरुक्क पर्थे रे, छोराछोरीलाई पनि गाली गरेरै तह लगाउने बाको वानी थियो । भाइबहिनी, छोराछोरी मात्र होइन बाको अगाडि अरुलाई उच्चो शिर लगाउने हजुरआमाको पनि शिर निउरिन्थो । गाउँघर, वरपरका मानिस बा र हजुरबालाई बाबुसाहेब भन्थ्ये । हुन पनि हो बा र हजुरबाको उपस्थिति गाउँ छिमेकमा बाबुसाहेब वाला नै थियो ।

हजुरबा बिहान उठेर गाउँ चहारी घर आइपुग्दा, बुहारीहरुले खाना ठिक्क पारी राख्थे । हजुरबाको दैनिकी गाउँघर विहान चहार्दै छोरानाति, राजनिति, खेतीकिसानीको कुरा गर्नु हुन्थ्यो । हजुरआमालाई भने हजुर बाको गाउँ डुलाइ बिना तुकको लाग्थ्यो, ठुस्स पर्थिन तर बोली फर्काउदिन थिइन । गाउँभरि कुरा गरेर हिडने हजुरबालाई घरपरिवारमा आइमाइ जस्तो भनि खिज्याउथे । हजुरआमाको बोली फुत्क्यो भने, हजुर बा चोथाले आइमाइ, आइमाइको जात भनि झम्टी हाल्थे । बुहारीहरु भित्राए पछि त हजुरआमा, हजुरबाको गाली सुने नसुने झै गर्ने भएकी हुन अरे । सायद हजुरआमालाई लाग्दो हो बुहारीछोरीहरुलाई सहनशिलाको पाठ यसरी नै पढाउनु पर्छ । हजुरआमा बुहारीको अगाडि टोकेसो नगर्न सुटुक्क हजुरबालाई आग्रह गर्थिन । उनलाई अरुले नदेख्ने गरि हजुरबाले लात्ता हाने पनि देख्ने गरि गाली सम्म पनि नगरुन झै लाग्थोे ।

बा चाहि हजुरबासंग पनि डराउदैन थिए । बा र हजुरबा बीच भनाभना चलिरहन्थ्यो तर घरका आइमाइ जत्ति तिनका वीच ढुगांको मुर्ति झै हुन्थे । एक्लै हुदा हजुरआमाले हुर्की सकेका छोराहरुसंग कडकिन हुन्न भनि हजुरबालाई सम्झाएको यदाकदा सुनिन्थ्यो । बा कराउदा आमा मुखमुखै कहिल्यै लागिनन, बरु लोग्ने मान्छे यस्तै हुन भनि बा कै पक्ष लिइन । उनकी आमाले नि त्यसै गर्थिन रे । आमाको आधिउधि उमेर बाले बाहिर यसोउसो गरि शत्रु हसाउने हुन की भनि पिरोल्लिएर नै बित्यो  र पटकपटक  गाउका गुरुका सल्लाह लिन धाउथिन । हुन त बा बाहिर जे जस्तो भए, गरे पनि घरै चै अर्की भित्राउदिन भन्थे । यो कुराले आमालाई ठूलो संतोष मिलेको थियो र बा प्रति आमा नतमस्तक थिइन । तर घरीघरी बाले पुतलीबजारकी कान्छिको कुरा गरे पिच्छे आमा झसंग हुन्थिन । तल्लाघरे काकाकी कान्छीको गुनगान हजुरआमाले गाउदा भने आमा कर्के नजर गरि हेर्थिन र रीसले दाह्रा किटथिन तर केही बोल्दीन थिइन कीनकी बालाई आफ्नी आमालाई कसैले केही भनेको मन पर्देन थियो । बालाई मनपर्ने, नमनपर्ने कुराको परिवारमा खुब ख्याल राखिन्थ्यो । भान्छामा तरकारी पाक्दा बाको विशेष ध्यान राखेर पकाइन्थ्यो पछि आमाले दाइहरुलाई पनि मन पर्ने, नपर्ने ख्याल राख्न थालिन । पछि भाउजुहरु आएपछि दाइहरुको ख्याल उनीहरुले नै राखे । गाइको दुध बाक्लो नभएसम्म तताएर खुवाएर, बालाई हजुरआमाले हुर्काएको रे, आमाले पनि त्यसै गरि दाइहरु हुर्काएकी हुन । हुन पनि हो, बालाई हुर्काउन हजुरआमाले केही कसर नछोडेको जस्तो लाग्थ्यो किनकी बा पनि खाइलाग्दा, हट्टाकट्टा थिए । बाले एकचोटी झटारो हाने आमा तीन दिन उठन सक्दीनन थिइन । आमाको लागि बा देउता सर थिए । बाको सम्मान भनेको आमाको आत्मसम्मान थियो । तर आमाले आफ्नी आमाले झै बाको खुट्टैको पानी नै चै तीजको दिन बाहेक अरुबेला खाएको देखिएन ।

बा परिवारका नमूना थिए । बासंग सवै डराउथे । बाको रीस उठ्यो भने मुख भन्दा पहिला हात उठथ्यो । बासंग परिवारका मात्र होइन गाउँघरका सवै डराउथे । बालाई गाउँघरको झगडा मिलाउन बोलाउथे । बा सम्झाउथे, सम्झाउदा नमाने हात चलाउथे त्यसैले बालाई प्राय सवैले चिन्थे । बालाई सवैले चिन्नुको मतलव सवैले मलाइ मन पराउछन भन्ने लाग्थ्यो तर बा कै पछाडि धेरैले कुरा काटेको सुनिन्थ्यो । बा एकातवार गाउँघरमा कुटपिटमा पनि परी घाइते भएका थिए । त्यतिबेला आमा निकै पिरोलिन । आमाले बालाई धेरैचोटी रीसलाई काबु राख्न भनेकी पनि हुन तर बाले आइमाइको जात बाहिरी दुनिया बुझे पो भनि आमालाई हप्काए । दाइको विहा पछि आमालाई भाउजुहरु साथि भए, दुखसुखको कुरा गर्न । हजुरबा विते पछि घरको हर्ताकर्ता बा नै थिए, विस्तारै दाइहरुले घरको गर्जो टार्न सघाउदै गए । घरको बागडोल दाजुहरु सम्हाल्दै गए । बा अव, हजुरबा जस्तै यसो गाउँघर डुल्ने र कुराकानीमा रमाउन थाले । दाजुहरुको हातमा घरको अर्थतन्त्र आएपछि भाउजुहरुलाई पनि केही राहत भयो । दाजुहरुले अरवको सपना देख्दै गर्दा भाउजुहरु र आमा खुशि हुन्थे । भाउजुहरु पल्लाघरेको ठूलो टेलिभिजन सम्झिन्थे तर आमा भने काइली आमा सम्झन्थीन किनकी काइलीआमा नै आमाकी एकमात्र प्रतिस्पर्धी थिइन । अरवको सपना देख्दै गरेका कान्छा दाजु, एकदिन काठमाण्डौ हुदै अरब हानिए । अरब गएको ३ महिनामा नै दाजुले पचासहजार पठाउदा बा निक्कै खुशि भएका थिए । त्यहीबेला बाले गाउँभरिकालाई छोरा उतै उठाउन र कमाउन सुल्झाए । बालाई पैसा पठाउने दाजुले तीन महिना पछि भाउजुको नाममा पैसा पठाउन थाले, फेरि घरको गर्जो टार्ने जिम्मा बा र ठूलो दाजु कै काधमा आयो ।

छोराहरुका विषयमा आमा र काइली आमाको विच नजादिदो प्रतिस्पर्धा थियो । कान्छा दाइ अरब गएपछि सवैभन्दा पहिले आमाले काइली आमालाई नै सुनाउएकी थिइन । आमाआमा विचमा छोराको लागि मात्रै होइन कस्की छोरी गतिलो घरमा परि भनेर पनि प्रतिस्पर्धा हुन्थ्यो । दिदीहरुलाई पनि त्यो कुरो थाहा थियो, त्यसैले बनेरै माइत आउथे, मागेरै भएनि माइत आउदा झपक्कै भएर गतिलो लुगा लगाएर आउथे । आमा लुकाएको पैसा कोसेलीको जोहो गर्न भनि दिदीहरुलाई बासंग लुकाई लुकाई दिन्थीन । दिदीहरु काइलीआमालाई कोसेली ल्याउन विर्सिदैन थिए । दिदीहरु वरपरकाले के कस्तो आफ्नो वारेमा प्रतिक्रिया दिए भनि आमालाई अगेनमा हुदा सोध्थे । आमाले जसो सुल्झायो दिदिहरु उसै गर्थे । हजुरआमा पनि आमालाई सोझी तर भित्री बाठी छे भनि भन्थिन।

साइली दिदीको विहा भएको पनि हजुरबा वितेकै वर्ष हो । बालाई साइला भिनाजु साह्रै मन पर्थ्यो । साइली दिदीका भिनाजु अलि चेपारे थिए, आमा पनि तिनलाई अलि मन पराउथिन । बा पनि तिनको खुव सत्कार गर्थे । आमा र बाका खुव मन पर्ने भिनाजु दिदीका प्रिय चै कहिले भएनन । दिदी भन्थिन अरुको अगाडि नम्र  भिनाजु दिदीका लागि प्राय दानव सरी थिए रे । दिदीले माइतमा घरपरिवारको कुरा निकाल्न खोजे, पहिल्यै बा,आमा दिदीलाई नै सम्झाइ बुझाइ गर्थे । त्यसैले दिदि दुखेसो दिदिको दुखेसो कहिल्यै सुन्न पाइएन । दिदी सुत्केरी अवस्थामा बित्दा भिनाजु साथिभाइसंग खाल जमाइ रहेका थिए रे । बा आमाले छोरी किन र कसरी बिति भन्ने कुरो कहिल्यै उप्काएनन, भाग्यको लेखा भने र भिनाजुलाई कहिल्यै दोष दिएनन । छोरी बितेर गइ, ज्वाइ किन पराइ बनाउनु भने । पछि, बाले नै दिदी बितेको ६ महिना पछि भिनाजुलाई गाउका काकाका छोरी मिलाइ दिए । बाको महानताको प्रशंशा भिनाजु र भिनाजुको परिवारले त्यतिवेला खुलेरै गरे । तर काकाकी छोरी विहे भएको ३ महिनामा नै रुदै बा कहा आई । पछि, बा र आमाले तीनले आफ्नी छोरी जस्तो घर गर्न नसकेकी भनि कुरा गरेको सुनियो, बितेकी दिदीको सम्झना भन्दा बा आमालाई दिदीले घर गरेकोमा गर्व थियो । मरे पछि बा आमाको मुखबाट दिदिको प्रशंशा धेरै सुनियो ।

केही समय पछि जेठा दाजु नि अरव गए । उनले शुरु देखि नै कान्छा दाजुले झै भाउजु कै नाममा पैसा पठाए । पहिले जस्तै बाको काधमा फेरी पुरै परिवार आयो । पहिले दह्रा र बलिया बा अव अलि गलेका देखिन्थे, सायद उमेरले पनि होला । जति गले नि बाको बाबुसाहेबपन ज्युका त्यु थियो । बाले हजुरआमालाई बिदा गर्दा दुवै दाजु अरव मै थिए । बा आमा बित्दा लुकीलुकी खुव रोए, तर अरुलाई देखाएनन, बालाई लाग्थ्यो लोग्ने मान्छे रुनु हुदैन । बा सानोहुदा दाजुहरु रुदा उसै गरि के आइमाइ झै रोएको भनि फकाउथे ।अव, बाको दुखसुख वाडने कोही थिएनन, दुवै दाजु गए पछि बा घरमा नितान्त एक्लो भएका थिए । आइमाइलाई केही थाहा हुन्न भनि बा पहिले देखि नै आमासंग धेरै कम सरसल्लाह लिन्थे । थलिदै र ओइलाउदै गएका बा निकै शान्त भएका थिए । दिदी बिते पछि भिनाजु काकाकी छोरि हेर्न एकचोटी घर आएका थिए, त्यसपछि कहिल्यै बाआमालाई मुख देखाएनन ।

जेठा दाजु पाँच वर्ष पछि अरववाट आए, नजिकै घर बनाइ छुट्टीएर बसे । कान्छा दाजुले पछि सम्म भाउजुकै नाममा पैसा पठाए । भाउजुले बजारमा घडेरी किनिन र भाउजु छोराछोरी लिइ केटाकेटी पढाउन भनि उतै बस्न थालिन । बा आमाको बुढेसकालमा कान्छो छोरोसंग बस्ने रहर थियो तर त्यो पनि पुरा भएन । आजकल बा बोल्नै छाडे, सायद घर नजिकका काइला बा पहिल्यै नबितेको भए बा को कुरा उन्ले सुनि दिन्थ्ये की । ३ वर्ष पछि माइत आएकी ठूली दिदिसंग बाले निराश हुँदै आशु पुछ्दै भने यो सानी कान्छी पनि पढन अव शहर जान्छु भन्छे, पढेर अफिसर भइ बा आमालाई शहर लान्छु भन्छे । बा दिदीलाई हेर्दै भने छोराहरुले नगरेको अव अर्काको नासोले गर्लान के । बाले त्यसो भनि रहदा, आमाले सप्कोले आशु पुछिन ।

कान्छी छोरीले शहरबाट लिन नआए सम्म बाले कहिल्यै कान्छीले भनेको कुरालाई विश्वासै गरेनन । बसको टिकट काटदा सम्म पनि बाले विश्वाशै गरेनन । बाले शहर जान लाग्दा दौरा सुरुवाल र कालो कोट झिके जुन उनले दिदीको विहामा सिलाएका थिए । दाइले अरवबाट ल्याइदिएको चस्मा लाएका थिए । घरीघरी ऐना हेरेर कोट मिलाउथे बा । आमाले तिजमा नै लाएको रातो साडी र फुलवुट्टे चोलो लाइन । आमा शहर जान लाग्दा ठूली भाउजुले हाम्लाइ नभुल्नु शहरको रमझमले भनिन, बाले भाउजुलाई पुलुक्क हेरी बल्ल धेरै पछि मुसुक्क हाँसे।

2 comments:

  1. सामाजिक कथा बस्तु राम्रो मिलेको लेख पढ्न पाइयो - धन्यवाद है! फेरि फेरि पढ्न पाइयोस्!

    ReplyDelete
  2. गज्जब छ व्यंग्य ।

    ReplyDelete

" फेसबुके माया " (2020)

              गाउँमा असी वर्षका बुबा , विदेशबाट छोराको फोन आउने आशामा बसेका छन । आज बुबाको जन्मदिन । छोरा बुहारीलाई नि सम्...