Sunday, May 10, 2020

यात्रा अनुभव ( Annapurna post, 20016)


केही महिना अघि अमेरीका यात्रा गर्ने अवसर मिल्यो, अवसरको फाइदा उठाउदै अमेरीका हानिए । मन भित्र अनउत्तरित कयौ प्रश्नहरु साच्दै उत्तर पाउने आशका साथ म गएको थिए । कति प्रश्नको उत्तर बोकी आए कति अझै पनि अन्उत्तरीत नै छन सायद भविष्यमा तीनका उत्तर पनि क्रमश मिल्दै जालान । मैले अमेरिकाको भिसा नपाउनेहरु रोधन देखेकी छु  अनि कयौ पटक भिसाका लागि प्रयन्त गरि नथाकेकाहरुलाई पनि भेटेकीछु र अहिले पनि अमेरीका जाने सपना बुनेर बसेकाहरुलाई पनि देखेकीछु । अहिले विद्यार्थीका रुपमा, डीभी चिठ्ठा परेर, काम अनुमति लिइ थुप्रै नेपालीहरु अमेरिकामा बसोवास गर्नु हुदो रहेछ । किन साच्छन सवै अमेरीकाकै सपना त ? सपनालाई यर्थात बनाउदाको अनुभव के छ त उनीहरुको ? जान्ने अवसर मिल्यो ।

यो करीव तीन महिनाको मेरो अमेरिका बसाइको अनुभव मात्र हो । हुन त विकशित देशहरु भनेको कतीपय मिहेनती र प्रखर बुद्धि भएकाहरुका लागि त आफ्नो क्षमता देखाउने ठाँउ पनि हो । कतीपय नेपाली विद्यार्थीहरुले आफ्नो क्षेत्रमा राम्रो गरेर नाम र दाम कमाएको पनि पाइयो भने कतीपय औसत नेपाली विद्यार्थीले पढाइ सुचारु गर्न, छात्रवृति तथा आर्थिक अभाव भएको र बाध्यताले गर्दा खर्च घटाउन विभिन्न देशवाट आएका केटाकेटीसंगै लिभिड टुगेदर गरेको उदाहरण पनि प्रसस्तै भेटियो ।

बडदो उमेरसंगै अमेरीकाको मृगतृष्णा पनि कम हुदै गएको अनुभव धेरै बुज्रुकहरुले सुनाउनु भयो एक दुईवटा अपवाद वाहेक प्राय धेरैले आफ्नो बुढयौली त नेपालमा नै फर्की विताउन चाहनु हुदो रहेछ । धेरै आमाबुबाहरु छोराछोरीले नागरिकता लिए पछि अमेरीका पुग्नु भएको रहेछ र केहीे र अरुका बच्चा हेर्ने काम गरी आम्दानी गर्नु भएको रहेछ, उहाहरु आफ्नो बुढयौली नेपालमा भन्दा उत्पादक भएकोमा रमाउनु पनि भएको रहेछ । ५० कटेका, ६० कटेका अनि ७० पनि कटेकाहरुको एउटै चाहना थियो अन्तिममा त नेपाल नै फर्किने । हुन त कसको कुन बेला अन्तिम हो थाहा हुदैन तर पनि यसो सम्झिदा लाग्यो “त्यो मन त आखिर नेपाली नै हो अनि मनको शान्ति त नेपालमै पो रहेछ कि क्या हो ?” तर विचार गरेर सोच्दै जादा लाग्यो देशको माया किन बुढयौली लागे पछि मात्र र देशका लागि यो कत्तिको फाइदाजनक छ वा देशले कसरी धान्ला वा व्यवस्थापन गर्ला यस्लाई ? यतावाट उता गएका कतिपय नेपालीहरुले वृद्धाश्रममा काम गरी व्यवस्थापनमा योगदान दिइ रहेको अवस्था छ भने यहा भएका २, ४ वटा वृद्धाश्रम पनि धान्न गाह्रो परि रहेको अवस्था छ र दाताहरुको सहयोग विना व्यवस्थित रुपमा सुचारु ह्ुन गाह्रो देखिन्छ ।

कतिपयले त हातमा पैसा जम्मा पारेर लगानीका अवसरको पर्खाइमा पनि बस्नु भएको रहेछ, तर कसरी लगानी गर्नेवारे विश्वस्त हुनु सक्नु भएको रहेनछ । मन्त्रीले चाल्नु भएको निजामती सेवाकर्मीको विदेशिने क्रम रोक्ने कदम प्रति सर्वत्र सरहाना भई रहेको परिपेक्ष्ममा सम्वन्धित अरु मन्त्रालयले पनि लगानी भित्राउने, व्यवस्थापन गर्ने अनि उत्पादक जनशक्ति विदेशिन रोक्न प्रयत्न गर्नु पर्ने देखिन्छ । संसार भरिबाट भित्रिने रेमिटयान्समा रमाउने प्रवृतिले छोटो समय फाइदाजनक देखिए पनि दीर्घकालिन रुपमा कस्तो समस्या ल्याउला भनी सोच्नु पर्ने देखिन्छ ।

बढदो उमेरसंगै नेपाल फर्कने चाहना पालेका नेपालीहरुले आफू विश्वस्त भएर त्यहा खान पान गर्न सकि रहेको भनिरहदा म भने नेपालमा भएको विषाक्त तरकारीको चर्चा गरिरहेको थिए । अन्धाधुन्द तरकारीमा प्रयोग भएका किटनासकको, सूई लगाइएका काक्रा, फर्सी अनि लौकाको अनि बढदै गएको क्यान्सर र धुलो धुवाले गर्दा भएको स्वासप्रस्वास सम्वन्धी समस्याको । विकशित देशहरु घुम्दा र देख्दा लाग्छ, सरकार नागरिकको स्वास्थ्य प्रति सजक छ, उस्ले जनताको अधिकारलाई यस अर्थमा कदर गरेकोछ । जव, नेपाल फर्कना साथ संचार माध्यममा छाएका तरकारीमा किटनासक जाच सम्वन्धि समाचार पढदा लाग्यो ढिलै भए पनि केही त भएछ नागरिक स्वास्थ्यका लागि तर डर छ यो लहर केवल वर्षा यामको खहरे जस्तो बन्ने त होइन । चर्चा खहरेको भेल झै हुने अनि केही क्षणमा सुस्ताउने ।

छोटो समयमा अमेरीकाको विद्यालय शिक्षा सम्वन्धी सतही बुझ्ने प्रयास गर्दा मैले त्यहाको विद्यालय शिक्षा एउटा व्यक्तिलाई जीवनयापन गर्न सजिलो बनाउने व्यवहारिकपनलाई बढी जोड दिई तयार पारिएको जस्तो लाग्यो । विद्यालयमा उमेर अनुसार कक्षा चढदै जाने, अनि क्षमता अनुसार उच्च शिक्षाको ढोका खुल्दै जाने कारणले गर्दा धेरै जसो क्षमतावान विद्यार्थीहरुले मात्र सम्वन्धीत उच्च शिक्षामा प्रवेश गर्दा रहेछन । हुत यहाका पत्रपत्रीकामा अहिले डाक्टर, इन्जीनियर बन्न क्षमता भन्दा पनि आमाबुबाको लगानीले महत्व राख्ने चर्चा चलिरहेका छ भने प्रत्येक वर्ष एस.एल.सी परीक्षामा फेल भएर निरास भई अर्को वर्ष कुुनु पर्ने वाध्यता भएका विद्यार्थीहरुको जमात पनि ठूलै छ र पास भएकाहरुले पनि अनिश्चित उदेश्य लिइ उच्च शिक्षा पढने क्रम पनि बढदो छ । उच्च शिक्षा के का लागि ? उच्च शिक्षा पछि के गर्ने ? जागिर खोज्ने र जागीर नपाए पढने वा जागिरमा अल्झिने र जाच दिन एकै चोटी परीक्षा केन्द्रमा जाने र पास हुने गरेको देख्न र सुन्न पाइन्छ । के हामी यसवाट केवल शैक्षिक बेरोजगार मात्र जन्माउने काम गरि रहेका त छैनौ ?

मैले छोटो बसाईमा अमेरिकामा रहेका नेपालीहरुको शिक्षा र पेशागत आधारवाट बसाइको मापदण्डमा कुनै भिन्नता पाइन । विद्यावारिधि पछि कलेजमा पढाउने प्रोफेसर र एउटा साधारण स्टोरमा काम गर्ने नेपालीको खानपान, लवाई र बसाइ उस्तै लाग्थ्यो । उहाहरुका छोराछोरी एउटै विद्यालयमा पढथे र एक अर्काका साथी थिए तर सायद नेपालमा उहाहरु ह्ुनु भएको भए सायद विद्यालयको छनोट देखि नै उर्हाँहरु बीच भिन्नता हुदै जाने थियो होला । जुन क्षेत्रमा बस्ने हो त्यहीको विद्यालयमा पढदा आर्थिक रुपमा किफायत हुने हुदा पनि प्राय छोराछोरीलाइ घर नजिकैको विद्यालयमा पढाउने प्रवृति त्यहा रहेछ । यसै कारणले पनि होला प्राय आमावावुको आर्थिक र सामाजिक हैसियतले छोराछोरीको विद्यालय चयन प्रक्रियामा कम असर पर्दो रहेछ । प्राय विद्यालयहरुको गुणस्तरमा पनि ठूलो अन्तर नहूदो रहेछ ।

कतिपय नेपाली साथीहरु नेपालमा विदामा जादा नेपालमा यो वा उ उपचार गर्छु भन्दै हुनुह्ुन्थ्यो, मलाइ आश्चर्य लाग्यो नेपालका ठूलामानीहरु त प्राय अमेरीकामा उपचार गर्न जानु हुन्छ तर उहाँँहरु त उतै बस्ने फेरि  किन नेपालमा उपचार गराउन आउने कुरा गर्नु हुन्छ । उहाँहरुको भनाइ अनुसार अमेरिकामा उपचार खर्च बढी लाग्छ रे, हुन त धेरै उपचार खर्च बीमाले समेटछ रे तर पनि बीमाले नसमेट्ने खर्च पनि बढी नै हुन्छ रे । फेरी एकैचोटी वरिष्ठ डाक्टरकोमा जाने अवसर पनि ज्यादै न्यून हदोरहेछ । त्यसैले बीमाले पनि नसमेटने उपचार गर्न र चाहेको डाक्टर भेट्न त नेपालमै सजिलो रे । फेरि पनि मनमा प्रश्न उब्जीयो, त्यसो भए तल्लो आर्थिक अवस्था हूनेले उपचार पाउदैनन त त्यहा? त्यसो पनि होइन रहेछ, जो संग जोगाएर राखेको पैसा छैन उपचार सरकारी खर्च र बीमाबाटै पनि हुन्छ रे यहाका धेरै अस्पतालमा जस्तो पहिला नै अस्पतालमा पैसा जम्मा पारे पछि मात्र उपचार शुरु हुने समस्या हुदैन रैछ त्यहा ।

समयको पालन गर्ने र मिहेनतको प्रतिक हुनु हुदो रैछ त्यहा हुनु भएका नेपालीहरु । सालाखाला दिनको आठ घण्टा काम उहाहरु तन मन लगाएर गरेको मैले पाए तर यहा हामी कति समय तनमन लगाएर कार्यलयको समय काट्छौ मनन गर्न अव जरुरी भएकोछ । कतिपय कार्यलयमा सेवाग्रहीलाई प्रतिक्षामा राखेर कतै हाई–हाई गर्दै हामीले दिन विताइ रहेका त छैनौ ? हामी कार्यलय समयमा नै बसेर देशको विकास सम्वन्धी ठूला ठूला कुरा त गछौ तर सेवा लिन आउनेको सानो भन्दा सानो काम गरिदिन दिन महिनौ बिताउछौ । आफ्नो घरमा पालेको कुकुरको घमाउन हिडदा पनि पछि पछि प्लाष्टिकको झोला लिएर उनीहरुको विष्टा टिप्दै झोलामा हाल्दै गरेको दृष्य त्यहा देख्दा मलाई आफ्नो कुकुरको विष्टा घर अगाडिको सडकमा फ्याकेका काठमाण्डौका घरहरुको याद आइरहेको थियो । हुन पनि हो सधै सफा सडक नगरपालिकाको दायित्व भित्र राख्ने हामीले केही आफ्नै आचरण र व्यवहारमा सिक्न बाकी त अवश्य रहेछ । त्यहाका पर्यटकीय स्थलहरु हेर्दा लाग्यो, किन हाम्रा यत्रतत्र छरिएका पुरातात्वीक, सांस्कृतिक अनि प्राकृतिक धरोहरलाई न्याय र विश्वाश गरि रहेका छैनौ ? मनमा लाग्यो, यिनीहरुलाई संम्रक्षण त त्यहीबाट उठने प्रवेश शुल्कवाट उठाउन सकिदो हो ।

समग्रत रुपमा, त्यहा र यहा हेर्दा, व्यवस्थित प्रणालीको अभाव अनि व्यक्ति पिच्छेका कानूनका कारण समग्र देश विकास नै श्रोत र साधन हुदा हुदै पनि दौडिन नसकी केवल विस्तारै सुस्त सुस्त हिडिरहेको अनुभव हुन्छ । हामीसंग भएका राम्रा पक्षलाई अझ निखार्दै, अनि सुधारिनु पर्ने पक्षलाई व्यवस्थित प्रणाली भित्र हाल्दै र पालन गर्दे जानु नै हाम्रो लागि मार्गदर्शन हो । छिमेकीहवाट थिचिएको हिनतावोध नगरी वरु उनीहरुवाट पाएको अवसरलाई आत्मसात गर्दे उनीहरुकै गतिलाई पच्छयाउदै दौडिनु नै  आजको २१सौ सताब्धीमा हाम्रो बुद्धिमानी हुन्छ ।


No comments:

Post a Comment

" फेसबुके माया " (2020)

              गाउँमा असी वर्षका बुबा , विदेशबाट छोराको फोन आउने आशामा बसेका छन । आज बुबाको जन्मदिन । छोरा बुहारीलाई नि सम्...